चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन्भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, ‘सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई सङ्क्रमणको जोखिम रहन्छ ।’
साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा दुई सय ३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा एक सय सात, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र कालिका नगरपालिकामा आठजनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिए । उनका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये दुई सय २५ महिला र एक सय ९२ जना पुरुष छन् ।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेङ्गी रोग देखिने गरेको केसीले बताए । उनले भने, ‘अहिले साउनको सुरुआतदेखि सङ्क्रमण देखिन थालेको छ ।’
यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए । यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले जानकारी दिए ।
डेङ्गी रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्ने उनले बताए । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ ।
यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने केसीले बताए । डेङ्गी ज्वरो विषाणुका कारण हुने भएकाले यसको निश्चित उपचार भने नहुने उनको भनाइ छ । डेङ्गीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-26
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
