काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विभाजनले कांग्रेससहितको वैकल्पिक समीकरण बनाउने प्रयासमा धक्का लागेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउने प्रयासमा लागेको खबर सार्वजनिक भइरहेको बेला जसपा विभाजन भएको हो ।
जसपा विभाजनले वर्तमान सत्ता गठबन्धनलाई भने फाइदा पुगेको छ । एकीकृत समाजवादी र जसपा नेपाल नहुँदा पनि सत्ता गठबन्धनमा बहुमत पुग्ने देखिन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र अशोक राई पक्षका जसपाका सात सांसदको समर्थन हुँदा मात्रै पनि सरकारलाई बहुमत पुग्छ । नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई तथा प्रभु साह र दुई स्वतन्त्र सांसदको पनि सरकारलाई समर्थन कायमै छ ।
जसपाका कार्यवाहक अध्यक्ष एवम् सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले नयाँ पार्टी गठनको प्रक्रिया शुरु गरेका छन् । राईले हिजो निर्वाचन आयोगमा नयाँ पार्टी गठनका लागि निवेदन दिनुभएको छ ।
प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेकोमा राईसँगै प्रदीप यादव, सुशीला श्रेष्ठ, रञ्जु झा, वीरेन्द्र महतो, बहालवाला वनमन्त्री नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खानले नयाँ पार्टी गठनमा साथ दिएका छन् । नयाँ दलको नाम ‘जनता समाजवादी पार्टी ’ राख्ने निर्णय भएको छ ।
नयाँ जसपाको केन्द्रीय समितिका अध्यक्ष अशोक राई र सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ चयन भएका छन् । यस्तै रेणुकुमारी यादव सह–अध्यक्ष, नवलकिशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष छन् । मोहम्मद इस्तियाक राई महासचिव, प्रदीप यादव उपमहासचिव, रञ्जु ठाकुर सचिव र वीरेन्द्र महतो कोषाध्यक्ष हुने निर्णय भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-06
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
