
काठमाडौं । लगानी बोर्डले चार नयाँ ऊर्जा परियोजना विकास गर्न ९९ अर्ब १८ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकले तीन जलविद्युत् आयोजना र एक सौर्य विद्युत् आयोजनाका लागि लगानी स्वीकृत गरेको हो ।
लगानी स्वीकृत भएका परियोजनामा सबैभन्दा धेरै १६६ मेगावाटको सुपर तमोर जलविद्युत् परियोजनाका लागि अनुमानित लागत ३४ अर्ब ५९ करोड रुपियाँ स्वीकृत गरिएको छ ।
त्यस्तै गरी १३९ मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् परियोजनाका लागि ३३ अर्ब ४१ करोड र ४२ मेगावाटका अप्पर मोदी ‘ए’ जलविद्युत् परियोजनाका लागि १० अर्ब आठ करोड रुपियाँ लगानी स्वीकृत भएको हो । कोहलपुर र वाणगङ्गामा रहने कुल २५० मेगावाटका दुई सौर्य ऊर्जा परियोजनाका लागि पनि २१ अर्ब १० करोड रुपियाँ लगानी स्वीकृत गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना विदेशी लगानीका परियोजना हुन् ।
बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको थप लगानीसम्बन्धी विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न लगानी बोर्डको कार्यालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन पनि गरेको छ । त्यस्तै अप्पर मस्र्याङ्दी जलविद्युत् परियोजना र कोहलपुर तथा वाणगङ्गामा बन्ने सौर्य विद्युत्को परियोजना विकास सम्झौताका लागि विकासकर्तासँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा वार्ता समिति गठन गरेको छ ।
यस्तै अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटीदेखि दिदिङ सडकखण्डको मुआब्जा र क्षतिपूर्तिका लागि उच्चस्तरीय समिति प्रतिवेदन निर्णयका लागि नेपाल सरकार मन्त्रीपरिषद्समक्ष पेस गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले दाङ सिमेन्ट परियोजनाको विदेशी लगानीकर्ताको रकम फिर्ता लैजान पनि स्वीकृति दिएको छ ।
Sudina Shrestha
प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार ०८:२६
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
