काठमाडौं । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको हो ।
सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने र सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने सहमति भएको छ ।
रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने सहमति पनि चार दलले गरेका छन् ।
त्यसैगरी, सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सहभागी हुन अन्य दलहरूसँग पनि आवश्यक सम्वाद अघि बढाउने सहमति भएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने सहमति पनि चार दलबीच भएको छ । त्यसैगरी, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने विषयमा सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् ।
सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ । यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमति अनुसार नयाँ संयुक्त सरकार गठन गरिने जनाइएको छ ।
राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि चार दल सहमत भएका छन् ।
आठबुँदे सहमतिमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-05
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
