काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटबे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा बहालवाला सचिव, टेलिकमका प्रबन्ध निर्देशकसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा छ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटबे हालसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नपारी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएर रु २५ करोडमा खरिद गरी गराई सरकारको सम्पत्ति गैरकानुनी तवरले हानि नोक्सानी तथा रकमको दुरुपयोग गरी भ्रष्टाचारको अभियोग लागेको छ ।
आयोगले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका तत्कालीन उपकार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, उपनिर्देशक सफल श्रेष्ठविरुद्ध पनि आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।
आयोगले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा, कम्प्युटर इञ्जिनियर रामशरण गायक समेतको मिलेमतोमा नेशनल पेमेन्ट गेटबे खरिदमा भ्रष्टाचार गरेको पाइएको छ ।
आयोगले पूर्वसचिव शर्मा, टेलिकमका प्रबन्ध निर्देशक पौडेल, बुढा, पोखरेल र सचिव मरासिनीलगायतलाई रु २३ करोड २७ लाख ५८ हजार ७७ बराबरको छ । त्यस्तै, आयोगले केन्द्रका उपनिर्देशक सफल श्रेष्ठविरुद्ध रु १७ लाख ९९ हजार सात सय, लेखा अधिकृत निमबहादुर वलीविरुद्ध रु ८९ लाख ७७ हजार तीन सय ९७ बराबरको बिगो दाबी गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ आश्विन २०८०, सोमबार १५:३८
भिमसेनस्थानका साँ गुठीद्वारा मरूसतस्मा गजूरमा पतास् फेर्ने र गाई पूजा सम्पन्न
श्रीस्वास्थानी व्रत प्रारम्भस् चाँगुनारायण यात्रामा ऐतिहासिक भाँडाकुँडा फुटाउने परम्परा पुनः सम्पन्न
नेपाल सीनियर केयर र क्यान्सर निवारण प्रतिष्ठानबीच सम्झौता
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि