
काठमाडौं, ८ असोज । काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । काठमाडौं महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताए । अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाउना आउने उनको भनाइ छ ।
जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो ।
ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको उहाँको भनाइ छ । सबै पाहुनाहरु मङ्गलबार आइपुग्ने छन् ।
जात्राको शुरूको दिन दिव्गत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिने छ । असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो । सो दिन बढी भीडभाड हुने भएकाले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको छ ।
उक्त दिन एक सय ८० स्वयंसेवक परिचालन गरी जनपथ र सशस्त्र प्रहरी तथा महानगरको प्रहरीले विशेष सुरक्षा दिने छ । जात्रा अवधिमा हुन सक्ने आगलागीको जोखिमलाई ध्यानमा राख्दै वारुणयन्त्रको समेत व्यवस्था गरिएको छ ।
असोज १५ गते नानिचा याः अर्थात् अन्तिम दिन हनुमानढोका परिसर, प्याफल, नरदेवी, किलाघः, भेडासिंह, वंध(इन्द्रचोक) र मखन क्षेत्रमा सवारी निषेध गरिएकोे छ । कार्यक्रमअनुसार असोज ९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिङ्गो ठड्याउने, असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ ।
त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ । जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ । जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ आश्विन २०८०, सोमबार १६:११
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
