काठमाण्डौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । दिवसको अवसरमा आज कांग्रेस र उसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
२०३३ साल पुस १६ मा नेपाली कांग्रेसका संस्थापक नेतासमेत हरेका बीपी कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्यलगायत नेता र कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई झण्डै आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्केका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट देखेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केका हुन् ।
२०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई झण्डै तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यही वर्ष फागुन २६ गते सुन्दरीजल बन्दी गृहमा स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि २०२५ सालमा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप शुरू गरेका थिए ।
त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एशियाका अन्य देशमा पनि विखण्डन शुरू भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्केका हुन् । तर त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगेर बन्दी बनाइएको थियो ।
२०३४ साल जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बीपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबिस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।
सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए ।
बन्दीगृहमा बस्नुअघि २००८ सालमा उनको ‘दोषी चस्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो । कोइराला नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिन्छन् ।
२०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ पुष २०८१, मंगलवार ०९:३७
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने