काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक उद्घाटन गरेपछि शुरु हुने सम्मेलन भोलि बेलुकासम्म चल्नेछ । उद्घाटन सत्रमा प्रधानमन्त्रीसहित २३ जनाले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा धेरैको सहभागिता सुनिश्चित भएको छ । सम्मेलनमा नौ खर्ब बराबरका एक सय ५० परियोजना सोकेसमा राखिँदैछन् । यस्तै सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष रहनेछन् ।
सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।
पहिलो दिन आज उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन भोलि ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।
लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् ।
सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भैसकेको छ । यस्तै चीनका दुई सय ६५, भारतका एक सय ४३, अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् ।
दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ÷नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट छ, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता रहने जनाइएको छ ।
अरू देशबाट तीन वा त्योभन्दा कम सङ्ख्यामा सहभागी हुने निश्चित भएको बोर्डले जनाएको छ । सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालको निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ बैशाख २०८१, आईतवार ०८:४५
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने