काठमाठडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ ।
पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अङ्ग्रेजी नाम राख्ने गरेका छन् । साथै युरोप, अमेरिकालगायत विकसित मुलुकमा उत्कृष्ट ठहरिएका शैक्षिक संस्थाको नाम राखेर विद्यालय खोल्ने क्रम पनि बढेको छ ।
त्यस्ता विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाले अबदेखि अनिवार्य रूपमा नेपालीमा नै नाम राख्न निर्देशन दिएको हो । नेपालीपन झल्कने गरी नामकरण नगर्ने विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्नामा रोक लगाउने चेतावनी पनि महानगरपालिकाले दिएको छ ।
अहिले राजधानीमा ह्वाइटहाउस, ट्रिनिटी, मिल्सबेरी, युरो किड्स, किड्जी, ब्राइट फ्युचर, लिभरपुल, गोल्डेन गेट, ग्लोबल, प्रिमिअर, जेम्स, नाइटिङ्गल, लिटिल एन्जल्स, हेराल्ड जस्ता अङ्ग्रेजी नाममा सञ्चालित विद्यालय छन् । महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाभित्र अङ्ग्रेजी वा विदेशी शैक्षिक संस्थाको नाम राखेर सञ्चालित संस्थागत विद्यालयको सङ्ख्या ३२३ वटा रहेको महानगरपालिकाका शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोख्रेलले जानकारी दिए ।
ती विद्यालयको नाम रुजु गर्ने काम भइरहेकाले सङ्ख्यामा तलमाथि हुन सक्ने उनको भनाई छ । रुजु गरिसकेपछि सबै विद्यालयलाई लिखित पत्राचार गरेर नेपालीपन झल्कने नाम राख्न सचेत गराइने छ । पत्राचारको काम बिहीबारदेखि नै सुरु गरिने छ ।
काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । तर महानगरपालिकाभित्रका अधिकांश संस्थागत विद्यालयको नाम उक्त व्यवस्था प्रतिकूल रहेको महानगरपालिकाले जनाएको छ ।
बुधबार सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र मौलिक नामकरण गर्ने प्रक्रिया अगाडि नबढाए नयाँ शैक्षिक सत्रमा भर्ना प्रक्रिया अघि बढाउनसमेत रोक लगाइने महानगरपालिकाले जनाएको छ । विभागका निमित्त शिक्षा प्रमुख सरस्वती पोखरेलका अनुसार सम्बन्धित संस्थागत विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्रमा विभागमा निवेदन दिनुपर्ने छ ।
तर आफूहरूको निर्देशनको अवज्ञा गरेमा शिक्षा नियमावली २०५९ र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ चैत्र २०८०, बिहीबार ०८:३०
आज तीन संसदीय समितिको बैठक बस्दै
माघ १८ गते संसद अधिवेशन बोलाउने तयारी
दूध पिउँदा आन्द्रा क्यान्सरको जोखिम कम हुन्छः अध्ययन्
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको मृत्यु
नेपाल भ्रमण वर्ष र चिनियाँ नयाँ वर्ष ‘२०२५’ को शुभारम्भ
१५ महिनापछि हमास–इजरायलबीच युद्धविराम, आजदेखि कार्यान्वयन हुने