
– हरि गोपाल प्रधान
कमाठमाडौं । श्रीअन्तु भन्ने वित्तिकै इलाम जिल्लाको स्मरण हुन्छ । इलामको फिक्कल, कन्याम, श्रीअन्तु आदि ठाउँहरूलाई पर्यटकीय स्थलहरू भनेर चिन्ने गरिन्छ । अचेल सन्दकपुर र माईपोखरीमा पनि पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । ती ठाउँहरूमध्ये पनि इलाम, श्रीअन्तु आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकहरूको पहिलो रोजाइमा पर्न थालेको छ ।
प्रदेश नम्बर १ मा पर्ने सुदूरपूर्वी क्षेत्र इलाम जिल्लाको सिद्धि खोला र मेची खोलाको बीचमा रहेको अत्यन्त रमणीय भाग हो श्रीअन्तु । श्रीअन्तुको पर्यटन क्षेत्र ४ हजार १ सय ४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । समशीतोष्ण हावापानी रहेको त्यस क्षेत्रको पूर्वमा भारतको दार्जिलिङ, दक्षिणमा जिर्मले, पश्चिममा कन्याम र फिक्कल तथा उत्तरमा पशुपतिनगर पर्दछन् । त्यस ठाउँलाई कसैले श्रीअन्तु भन्छन्, कसैले अन्तु मात्रै पनि भन्छन् ।
त्यस ठाउँबाट मनोरम प्राकृतिक दृश्यहरू देख्न सकिन्छ । विशेष गरी कञ्चनजङ्घा हिमाल, टिस्टा नदी, ब्रह्मपुत्र नदी, दार्जिलिङ, सिलिगुडी, लहगाड, नक्साल, काकरभिट्टा जस्ता स्थलहरू त्यहाँबाट राम्रोसँग देख्न सकिन्छ । इलाम, पाँचथर र ताप्लेजुङका अधिकांश भूभागहरू पनि त्यही ठाउँबाट राम्ररी देख्न सकिन्छ ।
श्रीअन्तु सूर्योदयको दृश्य हेर्ने स्थलका रूपमा प्रख्यात छ । कृषि पर्यटनको आधारले पनि त्यो ठाउँ अत्यन्त चर्चित छ । हरेक वर्ष हजारौँ पर्यटकहरू त्यहाँ पुगेका हुन्छन् । त्यहाँ ‘अन्तु पर्यटन विकास केन्द्र’ नामक संस्था पनि क्रियाशील छ । त्यस संस्थाले श्रीअन्तु पर्यटकीय क्षेत्रको विकास र व्यवस्थापन मिलाउने गरेको छ ।
श्रीअन्तु प्राकृतिक छटाहरूले सिँगारिएको सुन्दर इलाका हो । त्यो स्थल समुद्री सतहबाट १ हजार ८ सय २३ मिटर उचाइमा रहेको छ । त्यहाँको श्रीअन्तु नामक डाँडो नेपालमा सबैभन्दा राम्ररी सूर्योदय देख्न सकिने डाँडो हो । त्यहाँबाट विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घादेखि नेपालको सबैभन्दा होचो भूभाग समुन्द्री सतहबाट ५८ मिटर उचाइमा रहेको केचनाकलन, झापा समेत देख्न सकिन्छ ।
श्रीअन्तुबाट देखिने सूर्योदयको दृश्य अभूतपूर्व सौन्दर्यले युक्त हुन्छ । सूर्योदयको दृश्य त्यहाँबाट बढीमा १५ मिनेटसम्म हेर्न सकिन्छ । असोजको अन्तिम हप्तादेखि पुसको दोस्रो हप्तासम्म सबैभन्दा राम्रोसँग सूर्योदयको दृश्य देख्न सकिन्छ । फागुन मसान्तदेखि जेठ मसान्तसम्म चाहिँ बढीमा १० मिनेटसम्म सूर्यास्तको दृश्य एकदमै राम्रोसँग अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य (एक कुना देखि अर्को कुनासम्म राताम्य आकाश) हेर्ने नेपालको सबैभन्दा सुन्दर स्थान नै इलामको श्रीअन्तु हो ।
श्रीअन्तुमा पुगेपछि दृश्यावलोकन गर्नैपर्ने स्थानहरू धेरै छन् । चियाका बुटाहरू हेर्दै डुङ्गामा सयर गर्न सकिने अन्तुपोखरी, पोखरीको नजिकै रहेको शिव मन्दिर, लामाहरूले गुफा बस्ने गरेको र दार्जिलिङकोे शोभा हेर्न पनि सकिने गुफापातल, पूर्वी नेपालको सिमाना मेची नदी, धार्मिक स्थल नागेश्वरी मन्दिर, पुराना रूखहरू र धेरैथरी जडिबुटीहरू पाइने छागेवन त्यस्ता स्थानहरू हुन् ।
तीबाहेक लाप्चा बस्तीको ज्युठी अर्थात् लाप्चा राजाहरूको ढुङ्गे चौतारो, सिद्धि दोभान, दोभानको बीचमा रहेको तर खोलाले कहिल्यै क्षति नपु¥याएको देवीस्थान, बौद्ध गुम्बा रहेको समालबुङ बजार, ६ सय ५ वर्ग किलोमिटर भूभागमा फैलिएको र युरोपियन बजारमा बिक्री हुने अर्थोडक्स चियाको खेती अनि सुनाखरी, गोदावरी, बेगुनिया, क्याक्टस, साइकलम्यान, म्यारिज, सिजनदास, बुटलक, गुलाफ, इन्जेल्या, आस्ट्रार, सिनेरिया, डेडिया, कार्नेसन आदि जातका फूलहरू पाइने फूलखेती पनि यहाँका प्रमुख आकर्षण मध्ये पर्दछन् ।
यस क्षेत्रमा लाप्चा जातिको बसोवास छ । यो पनि यहाँको अर्को मुख्य आकर्षण हो । नेपालभरिमा यो जातिको सङ्ख्या ४ हजारभन्दा बढी छैन । उनीहरूको आफ्नै भाषा छ, आफ्नै कला–संस्कृति छ, आफ्नै वेशभूषा छ र आफ्नै प्रकारको रहनसहन छ । नेपाल र भोटका बीचमा भएको युद्धमा प्रयोग गरिएका हातहतियारहरू लाप्चा जातिका घरहरूमा हेर्न पाइन्छन् । त्यहाँ अनेकौँ पुरातात्विक वस्तुहरू पनि देख्न पाइन्छन् ।
श्रीअन्तु डाँडालाई करिब २५ हेक्टर क्षेत्रफलमा फैलिएको अन्तुडाँडा पर्यटकीय सामुदायिक वनले ढाकेको छ । देवदार, सल्ला, धुपी, चाँप, जरे कटुस, मालतो आदि जातका रूखहरू त्यस वनमा पाइन्छन् । बँदेल, सालक, स्याल, खरायो, मृग, दुम्सी, काँडेभ्याकुर, कालिज, जुरेली, ढुकुर, हलेसो, चील, बेसारा काग, लाटोकोसेरो, कुक्कस आदि जनावर तथा पन्छीहरूको आश्रयस्थल बनेको त्यस वनमा र आसपासका सुन्दर थुम्काहरूमा वनभोज खानका लागि इलाम र श्रीअन्तु स्थानमा टाढाटाढादेखिका मानिसहरू पुग्ने गर्छन् ।
धार्मिक आधारमा हेर्दा श्रीअन्तु डाँडाबाट सूर्यको पूजा गरेमा सन्तान नभएका दम्पतीले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास रहिआएको छ । शिखरबाबा मन्दिर, शिव मन्दिर, राजारानी, अन्तु लामा–लमेनी, बज्रकाली, सिंहदेवी, सेतीदेवी जस्ता मन्दिरहरूले त्यस ठाउँलाई शोभायमान बनाएका छन् ।
वर्षको बाह«ै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्ने ठाउँ हो इलाम । त्यसैले पर्यटकीय स्थललाई व्यवस्थित बनाउन अहिले सडक सुधारसहित पर्यटकको सुविधाका लागि विभिन्न कार्यहरू गर्न थालिएको छ । पर्यटकीय सौन्दर्यलाई बढाउन रात्रि पर्यटनस्थल, सबै मौसमका लागि सुरक्षित पदमार्ग निर्माण, साइक्लिङ मार्ग, सामुदायिक भवन निर्माण, सडकबत्तीको व्यवस्था, फुड स्टेसन, व्यवस्थित पार्किङस्थल, अर्किड बगैँचा निर्माण, आरामस्थल, सार्वजनिक शौचालय, बाइनाकुलरसहित दूरदृश्य हेर्ने स्थानको निर्माण, मेची राजमार्ग विस्तार, घोडचढी मार्ग निर्माण आदि कामहरू धमाधम भइरहेका छन् ।
आन्तरिक पर्यटनमा रुचि भएका हरेक नेपालीले पटकपटक पुग्नुपर्ने ठाउँ हो इलाम र श्रीअन्तु । होमस्टेको व्यवस्था प्रचुर मात्रामा भएकाले श्रीअन्तुमा पुगेपछि बस्ने बासका विषयमा कुनै पनि पर्यटकले चिन्ता लिनुपर्ने अवस्था छैन ।
श्रीअन्तुसम्म पुग्नका लागि हवाई मार्गको रुपमा नेपाल वायुसेवा निगमको आन्तरिक उडानको इलामको फागुनन्द सुकिलिम्बा विमानस्थलसम्म पुग्न सकिन्छ । अथवा पूर्व–पश्चिम राजमार्गमा पर्ने झापाको चारआलीमा पुग्नुपर्छ । त्यहाँबाट मेची राजमार्गतिर लाग्नुपर्छ । मेची राजमार्ग हुँदै अगाडि बढ्दा फिक्कलभन्दा १ किलोमिटर तल छिविटार भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट करिब ४० किलोमिटर पक्की मोटरबाटो अगाडि बढेपछि सिद्धिखोलासम्मको ७ किलोमिटर पिच बाटो जानुपर्छ । अनि ७ किलोमिटरसम्म पैदलयात्रा वा गाडीमा गए आधा घण्टामा यात्रा गरेपछि समातबुङ्गमा पुगिन्छ । जताततै हरियो डाँडा दृश्यावलोकन गर्दै श्रीअन्तु डाँडामा पुग्न सकिन्छ ।






Sudina Shrestha
प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार ०८:२८
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
