
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । आँबुखैरेनी गाउँपालिकाको सामुदायिक विद्यालयको शिक्षा सुधारको अभियानमा साथ दिन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकको आइतबार बसेको बैठकबाट गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार आगामी शैक्षिक सत्रदेखि आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधार अन्तर्गत आँबुखैरेनीका गाउँपालिकाका सबै जनप्रतिनिधिका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरिएकोमा यस वर्ष सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउन, शिक्षाको गुणस्तर उकास्न र शिक्षा सबैका लागि समान धारणाको विकास गर्न जनप्रतिनिधिका साथसाथै शिक्षक तथा कर्मचारीका सन्तान सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरिएको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्य अनुरूप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष चुमानले भन्नुभयो, “शैक्षिक गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनका यस निर्णयले मद्दत पुग्ने विश्वास लिएका छौँ ।”
जनप्रतिनिधिका छोराछोरीले सरकारी विद्यालयमा पढ्न थालेपछि खस्कँदै गएको शैक्षिक अवस्थामा सुधार भई सहज र सुलभ रूपमा पढ्ने वातावरण कायम भएको र शिक्षक तथा कर्मचारीले भर्ना गरेपछि थप सुधार हुने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउन राज्यको नेतृत्व गर्ने मानिसले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेपछि दृष्टिकोणमा समेत परिवर्तन आउने हुँदा निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।
पालिकामा कार्यरत कर्मचारी र शिक्षकलाई पनि सामुदायिक विद्यालयमा नै छोराछोरी पढाउन आग्रह गरिएको निवेदन पठाएपछि प्रधानाध्यापकको बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार यस गाउँपालिकामा ३२ जना जनप्रतिनिधिले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।
अभिभावकको निःशुल्क बिमा
यसैबिच यस पालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभिभावक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले सामुदायिक विद्यालयको शिक्षा सुधार अभियान अन्तर्गत स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
पहिलो चरणमा यसै वर्ष पालिकाको भौगोलिक विकट तथा आर्थिक रूपले पिछडिएको क्षेत्र वडा नं. ४, ५ र ६ गरी तीन वटा वडामा यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । अर्यालले भन्नुभयो, “गुणस्तरीय शिक्षा र विद्यालयको खोजीमा बसाइँसराइ गरेर सहर झर्ने बाध्यता अन्त्य गर्न सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न अभियान चलाएका छौँ ।”
कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले आवश्यक नियम, कानुन निर्माण गरी बजेटसमेत व्यवस्थापन गरिसकेको छ । प्रतिव्यक्ति सात सय रुपियाँका दरले गाउँपालिकाले प्रिमियम तिरिदिएपछि बिमितले एक लाख रुपियाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने छन् । यसले शिक्षा र स्वास्थ्य दुवैमा सुधार हुने विश्वास गरिएको उपाध्यक्ष अर्याल बताउनुहुन्छ ।
सम्बन्धित विद्यालयको सिफारिसको साथमा वडाबाट विद्यार्थी र अभिभावकको विवरणसहितको सिफारिस सङ्कलन गर्ने, बिमा फाराम भर्ने र नवीकरण गर्नेलगायतका काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गराएमा प्रतिपरिवार तीन हजार पाँच सय रुपियाँ गाउँपालिकाले नै तिरेर स्वास्थ्य बिमा गर्ने उहाँले जानकारी दिनुभयो ।
शैक्षिक सुधार अभियान अन्तर्गत सन्तानलाई सामुदायिक विद्यालयमा पठाएका परिवारलाई कर छुट दिने तयारी पनि गरिएको छ । सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ५ सम्मका सबै एक हजार दुई सय विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । भवनतर्फ गर्नुपर्ने मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्कबेन्च फेर्नेलगायतका काम चैत मसान्तसम्ममा पूरा गरिसक्ने, नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टेलिभिजन राखी सिकाइलाई प्रविधिमा जोड्ने काम भइरहेको छ ।
अध्यक्ष चुमानले केही ठाउँका विद्यालय पुग्न विद्यार्थीले घण्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले त्यस्तो ठाउँमा ‘विद्यालय बस’ सञ्चालन गरिएको बताउनुभयो । अभियान अन्तर्गत सिकाइ गुणस्तरतर्फको पक्षमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि ‘एनुअल स्ट्याटस’ वा ‘एजुकेसन रिपोर्ट’ तयार पार्ने तथा विद्यार्थी, शिक्षक, समुदायलगायतमा रहेका समस्या पहिचान गरी समाधान गर्ने काम भइरहेको छ । – गोरखापत्रबाट
Sudina Shrestha
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार ०९:२०
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
